सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले बताए ।
उनका अनुसार दुई करोड पाँच लाख ५५ हजारमा ठेक्का सम्झौता भएको योजनाको आगामी २०८३ असार महिनासम्म म्याद रहेको छ । खहरेदेखि छिसवाङ हुदै ओखोलासम्म एक किलोमिटर पाँच सय मिटर सडकलाई पक्की नाला सहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिने आचार्यले बताए ।
छिसवाङका दुर्गाबहादुर खत्रीले विसं २०६७ मा मार्ग खुलेको सडक स्तरोन्नतिका लागि योजना परेपछि स्थानीयवासी उत्साही भएको बताए । “मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फीमात्र गाडी चल्ने गरेका थिए”, उनले भने “सडक फराकिलो पार्न हामीहरूले स्वःस्फुर्त रूपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छौँ ।”
यो सडकबाट मङ्गलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डमा पहिरोलगायत कारणले अवरुद्ध हुँदा वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्व रहेको छ ।
यसअघिका दुई आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पिपलबोट खण्डमा र सङ्घीय सरकारले हिलवाङ–खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन् । जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्व र प्राथमिकता दिइएको छ ।
हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताउनुभयो । यसअघि सङ्घीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ ।