उज्यालोको पर्व तिहारमा सावधानी नअपनाउँदा ठाउँ ठाउँमा आगलागी जनधनको क्षति

Jhalkonepal
सुनसरी , कात्तिक २७ 

तिहारलाई झिलिमिली तथा बत्तीहरूको पर्व समेत भनिन्छ । उज्यालोको पर्व भएकाले तिहारमा सबैतिर उज्यालो पार्न दियो तथा बिजुलीबाट बल्ने झिलिमिली बत्तीहरू बाल्ने गरिन्छ । तर बर्षेनी यो पर्वमा दियो बाल्दा पटका पड्काउँदा सावधानी नअपनाउन जनधनको क्षति नै हुने गरी आगजनीका घटनाहरू समेत हुने गरेका छन् ।  

भक्तपुरमा लक्ष्मी पूजा गर्न बालेको दियो सल्कँदा आइतबार एक जनाको मृत्यु भएको छ।
 मृत्यु हुनेमा भक्तपुर, मध्यपुर ठिमी नगरपालिका बस्ने ८३ वर्षीया सावित्रीदेवी मल्ल रहेको भक्तपुर प्रहरीले  जानकारी दिएको छ । आगलागीले  तीन तले घरको दोस्रो तलामा लक्ष्मी पूजा गर्न दियो बालेको थियो । अचानक दियोको बत्ती आफैँले लगाएको कपडामा सल्किएको आगोले जल्दा  सावित्रीदेवीको घटनास्थलमै मृत्यु भएको छ ।  
यस्तै लक्ष्मी पुजाकै दिन मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एक जना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूको झापाको बीएमसी, विराट नर्सिङ होम, आर्या, रेडप्लस, लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालका अनुसार स्थानीय दीपक कार्कीको घरमा आगो लागेपछि ग्यास सिलिन्डर विस्फोट भएको थियो । त्यसबाट बाटोमा हिँडिरहेकाहरू समेत घाइते छन् । आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी भोजपुरमा लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार  भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको छ । आगलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडा वर्तन, सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको छ

  यस्तै कात्तिक २६ गते राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भयो ।  इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा  आगलागी भएको हो । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ। यस्तैगरी सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

यसैगरी गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले  जानकारी दिएको छ ।  आगलागीबाट राईको घर पूर्णरुपमा नष्ट भएको छ।  आगलागीबाट नगद ३१ हजार रुपैयाँ पनि जलेको छ भने  घर परिसरमा पार्किङ गरी राखिएको एक अटो ट्याम्पोमा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कति क्षति भयो भन्ने विवरण आइसकेको छैन।

    

प्रतिक्रिया