काठमाडौँ, असोज १४
पछिल्लो पाँच वर्षमा देशभर १२ हजार आठ सयको सडक दुर्घटनामा मृत्यु भएको छ भने उपत्यकामा मात्रै हजारभन्दा बढीको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । पाँच वर्षमा सडक दुर्घटनामा परी करिब ८० हजार घाइते भएका छन् ।
गत आवमा सवारी दुर्घटनाबाट मुलुकभर दुई हजार आठ सय ८३, आव २०७८/७९ मा दुई हजार तीन सय ७६, आव २०७७/७८ मा दुई हजार पाँच सय, आव २०७६/७७ मा दुई हजार दुई सय ५१ र आव २०७५/७६ मा दुई हजार सात सय ८९ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यकामा हाल एक हजार तीन १३ ट्राफिक दरबन्दी रहेको छ । दरबन्दीभन्दा बढी प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको प्रहरीले जनाएको छ । उपत्यकामा मात्रै एक हजार आठ सय २२ ट्राफिक सवारी व्यवस्थापनमा खटिइएका छन् ।
देशभरि ६३ लाख सवारी साधन दर्ता छन् । काठमाडौँ उपत्यकामा मात्रै करिब १८ लाख सवारी साधन दर्ता भएको र करिब १४ लाख सवारी दैनिक सडकमा गुड्ने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थुप्रै चुनौती आइपरेको उल्लेख गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सडक संरचना व्यवस्थित हुन नसक्नु, सवारी साधन अत्यधिक वृद्धिलगायत कारणबाट सडक दुर्घटना बढेको बताउनुभयो । उपत्यकामा बर्सेनि साना ठूला १० हजार बढी सडक दुर्घटना हुने गरेको छ । सो दुर्घटनामा परी करिब दुई सयको मृत्यु तथा आठ हजार बढी घाइते भएका छन् ।
ट्राफिक प्रहरी प्रमुख पोखरेल विशेषगरी दुई पाङ्गे सवारी सधानको चालकको असावधानी तथा लापरबाहीपूर्ण व्यवहार, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायत कारणबाट दुर्घटना बढेको बताउनुहुन्छ । “समयानुकूल भौतिक पूर्वाधारमा सुधार नहुनु, सडकको अवस्था र प्रविधिको अभावसमेत दुर्घटनाको कारक बनेको छ”, उहाँले भन्नुभयो ।
प्रमुख पोखरेलले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक व्यवस्थापन कार्य सम्भव नहुने हुँदा सम्पूर्ण सरोकारवाला निकायको सहकार्य एवं जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको बताउनुभयो ।
१३ असोज २०८०, आईतबार ०२:११ मा प्रकाशित