म्याग्दी, कात्तिक २१
मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ ।गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बताउनुभयो ।
“सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट कोरला नाका सञ्चालन गर्न भएको कूटनीतिक पहल सफल भएको छ,” उहाँले भन्नुभयो, “लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।”
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनमा ल्याउने तयारी भएको जनाएको थियो । यसैगरी मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो ।
कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिका वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।
उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।
“प्रवेश पास भएका नागरिकले जुुनसुुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,” उहाँले भन्नुभयो, “कोरला नाकाको नजिकै रहेको नेचुुङ भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिका लागि तयारी गरिएको छ ।”
२० कार्तिक २०८०, मङ्गलबार ०३:०७ मा प्रकाशित