धनगढी, असार १६
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारीले चारवटा मन्त्रालय फुटाएर सरकार विस्तार गरेका छन । यस अघि नियुक्त भएका ५ जना बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय फुटाइएको हो ।
सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रीको जिम्मेवारी तोकेका हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालय भने यथावत् राखिएको छ।
भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ। जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय। उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ।
मुख्यमन्त्री सोडारीले अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय र लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्। एमालेका वीरबहादुर थापाले वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएकी छन्। नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापाले कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाटले स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन्।