मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिका–३ मा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा एक जना घाइते भएका छन्। शनिबार बिहान मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो।
काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ८ ख ३८८६ नम्बरको कन्टेनर र मुग्लिनबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–० ३५२२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक घाइते भएको र उनलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले यातायात सुचारु भएको छ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
१० असोज २०८२, शनिवार ११:५० मा प्रकाशित