जेनजी आन्दोलन सफल भएको गृहमन्त्री अर्यालको दाबी

Jhalkonepal

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समय भएको जेनजी पुस्ताको आन्दोलनलाई सफल भन्दै त्यसले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको बताएका छन्।

निर्वाचन आयोगमा बिहीबार आयोजित छलफलमा बोल्दै गृहमन्त्री अर्यालले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलनका कारण निर्वाचन आयोगका केही कार्यालयहरू समेत क्षतिग्रस्त भएको जानकारी दिए।

'अहिले जुन खालको विद्रोह भयो, त्यसको क्रममा सरकारी कार्यालयहरूमा व्यापक रूपमा क्षति पुगेको छ,' उनले भने, 'निजी क्षेत्रका सम्पत्तिहरू पनि नष्ट भएका छन्। निर्वाचन आयोगका केही कार्यालयहरू क्षतिग्रस्त भएका छन्, ती कार्यालयहरू पुनः सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको छ।'

गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपाली नागरिकहरूलाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न दिने विषयमा पनि सरकार गम्भीर रहेको बताए।

'सर्वोच्च अदालतले यस विषयमा आदेश दिइसकेको धेरै वर्ष भइसकेको छ,' उनले भने, 'अब यो सम्भव बनाउन आवश्यक छ। प्राविधिक कठिनाइ भए पनि जहाँबाट सकिन्छ, व्यवस्था लागू गर्नुपर्छ।'

आगामी निर्वाचन समावेशी र सहभागीमूलक बनाउने तयारीमा रहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले निर्वाचन आयोगसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको स्पष्ट पारे।

प्रतिक्रिया