चितवन, असार ३०
नारायणी नदीमा शनिबार भेटिएका तीनवटै
शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको
प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार
भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका
यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले
जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी
नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाजु विजय
परियारले शवको सनाखत गर्नुभएको हो । वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बसमा
उहाँ भरतपुरबाट चढ्नुभएको थियो । मृतक विकासको शव नजिकै फेला परेको अर्काे शव पनि
सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ । उक्त शव सर्लाही
बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको प्रवक्ता रिजालले बताउनुभयो
। गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल
साह भएको पुष्टि भएको छ । मृतकका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत
गर्नुभएको प्रहरी जनाएको छ । दुई शव शनिबार नै आफन्तले लगेका छन् । शुक्रबार
काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट
काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर
महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बगेका थिए । काठमाडौँबाट गौर
आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना
बेपत्ता भएका थिए । बेपत्ता बस र यात्रुको आज पनि खोजी सुरु भएको छ । पहिरो खसेको
सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी
भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।