रौतहट- रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरिया स्वास्थ्य केन्द्रमा बालबालिकालाई दिन तयारी गरिएको जापानी इन्सेफ्लाइटिस खोपको म्याद सकिएको भेटिएको छ।
कार्तिक १७, १८ र १९ गते १२ देखि २३ महिनासम्मका बालबालिकालाई खोप दिने तयारी भइरहेका बेला उक्त खोपको म्याद भएको भेटिएको हो।
चन्द्रपुर अस्पतालबाट ल्याइएको खोप म्याद नाघेको पाइएको कारण खोप वितरण तत्काल रोकिएको चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरले जानकारी दिए। उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गर्दै भने, “यस्तो लापरवाही हुनु हुँदैन, छानबिन गरेर जिम्मेवारमाथि कारबाही हुनेछ।”
उक्त भ्याक्सिनको म्याद २०२५ नोभेम्बर १ तारिखमा समाप्त भएको थियो। म्याद गुज्रिएको खोप वितरणको तयारी भइरहेको भन्दै वडाअध्यक्ष नवराज देवकोटाले यस घटनालाई गम्भीर लापरवाही बताएका छन्। उनले कार्यपालिकाको बैठक बोलाएर दोषीमाथि कारबाही गर्ने बताएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णका अनुसार प्रदेश कार्यालयबाट हालै आएको खोपको म्याद २०२६ अप्रिलसम्म रहेको छ। तर चन्द्रपुर–९ मा म्याद सकिएको खोप भेटिनु गम्भीर विषय भएको उनको भनाइ छ।
नगर प्रमुख सन्जय काफ्लेले पनि घटनाबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै यथाशीघ्र तथ्य बुझ्ने र आवश्यक कदम चालिने बताएका छन्।