काठमाडौं ,
चैत २५
गुजरातलाई
हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि उचालेको छ । आज भएकाे फाइनल खेलमा
घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि उचालेको हो ।
नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित
२० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले २८ बलमा सर्वाधिक ४० रन जोड्न सफल भए । यस्तै आर्य देसाईले २४ बलमा ३६ रन बनाए । रुद्र मयूर पटेलले १७ रन बनाए भने जयमित पटेलले १५ रन जोडे ।
नेपालका लागि अविनाश बोहोराले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै करन किसी र कुशल मल्लले समान १-१ विकेट लिए ।
त्यसअघि गुजरातको
वापीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै
१७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा सर्वाधिक ७४ रन बनाए ।
नेपालको सुरुवात केही
सुस्त रहेको थियो । पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल २१ बलमा १९ रन
बनाएर बोल्ड भएका थिए ।
दोस्रो विकेट भने
१५औं ओभरमा खसेको थियो । कप्तान रोहित पौडेल सँगको ७७ रनको साझेदारी पछि आशिफ शेख
३४ बलमा ३४ रन प्रहार गर्दै जाला युवराज सिंहको बलमा आउट हुदै पेभेलियन फर्किए ।