विपत्तिमा डुबिरहेको कोशी, मुख्यमन्त्री काठमाडौंमै, सरकार भने 'सक्रिय' रहेको दाबी

Jhalkonepal

विराटनगर- लगातारको वर्षाले कोशी प्रदेशको जनजीवन तहसनहस बनाएको छ। विशेष गरी इलाम जिल्लामा बाढीपहिरोको मारमा परेर ठूलो जनधनको क्षति भएको छ।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, शनिबार राति निदाइरहेका स्थानीयहरू अचानक आएको विपत्तिमा परे, जसमा ३७ जनाको ज्यान गएको पुष्टि भएको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार झापा, पाँचथर, मोरङ, उदयपुर र खोटाङ जिल्लामा पनि मृत्युका घटनाहरू भएका छन्। अहिलेसम्म प्रदेशभरि ५ हजार ९२५ घरका करिब २७ हजार मानिस विस्थापित भइसकेका छन्।

यस्तो कठिन घडीमा, सबैभन्दा बढी क्षति व्यहोरेको प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की भने काठमाडौँमै अड्किएका छन्। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती भण्डारीले भने— 'प्लेन नचलेको कारणले मुख्यमन्त्री फर्कन नसक्नु भएको हो। तर उहाँको निर्देशनअनुसार सरकार सक्रिय छ।'

उनका अनुसार, सरकारका जनप्रतिनिधि जनताको बीचमै छन् र उद्धार तथा राहत वितरण तीव्र गतिमा भइरहेको छ। “नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँगको समन्वयमा राहत कार्य अगाडि बढाइएको छ,” भण्डारीले बताए।

उनले भने, “हामीले १४ वटै जिल्लाका विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरेर काम गरिरहेका छौँ। जोखिमका क्षेत्रहरूमा प्राथमिकता दिँदै प्रतिकार्य अगाडि बढाइएको छ।”

सरकारले तत्काल आवश्यक राहत सामग्री प्रभावित क्षेत्रहरूमा पठाइसकेको बताइएको छ। विस्तृत विवरण संकलन भएपछि थप राहत वितरण र पुनःस्थापना कार्य सुरु गरिनेछ। मन्त्रालयले आवश्यक सामग्री तयारी अवस्थामा राखेको पनि जानकारी दिइएको छ।


प्रतिक्रिया