कैलालीको चिसापानीमा केवलकार शिलान्यास

Jhalkonepal

धनगढी, पौष १३

कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले लम्कीचुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शनिबार शिलान्यास गरेकी हुन् ।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए ।

उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ।’

उनले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने बताए।

केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको उनको भनाइ थियो।

लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।

कुल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन्। यसका साथै टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।

प्रतिक्रिया