काठमाडौँ, २७ कात्तिक : सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । “हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । “टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालिसकेको छ, सम्भवतः आजैदेखि बन्द हुन्छ ।”
सरकारले टिकटक बन्द गर्ने निर्णय सार्वजनिक भए संगै सामाजिक संजालमा मिश्रित प्रतिक्रिया आइरहेका छन । केहीले सरकारले राम्रो गर्यो भने पनि केहीले यसलाई अभिब्यक्ति स्वतन्त्रताको हनन् भनिरहेका छन । टिकटकमा अवान्छित सामग्री बनाउनेहरुलाई कारवाहीको दायरामा ल्याउने उनीहरुको एकाउन्ट बन्द गरि नियमन गर्नु पर्नेमा टिकटक नै बन्द गराउनु बेठिक भएको कतिपयको विचार छ । यदपी टिकटकले नेपाली समाजमा नकारात्मक प्रभाव देखाएकोले बन्द नै गर्नु उपयुक्त भनि स्वागत गर्नुहरुको पनि संख्या ठुलो छ ।
टिकटकलाई विभिन्न कारण देखाउदै अहिले सम्म २७ वटा देशले प्रतिवन्ध लगाएका छन ।