जनमत पार्टीका ६ केन्द्रीय नेताको सामूहिक राजीनामा

Jhalkonepal

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीका ६ जना केन्द्रीय नेताले बिहीबार सामूहिक राजीनामा दिएका छन्।

बुधबार मात्रै पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिएका उनीहरूले आज साधारण सदस्यता समेत त्याग गर्दै पार्टी परित्याग गरेका हुन्।

राजीनामा दिने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य तथा केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन्।

उनीहरूले पार्टीभित्रको एकल निर्णय प्रवृत्ति, राजनीतिक विचलन, र मूल विचारधाराबाट विचलित हुँदै गएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। अध्यक्ष राउतको नेतृत्वशैलीप्रति असहमति जनाउँदै उनीहरूले वैकल्पिक राजनीतिक यात्रा सुरु गर्ने संकेत पनि दिएका छन्।

जनमत पार्टीले घटनाबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। पार्टीको नेतृत्व तहमै देखिएको यस प्रकारको असन्तुष्टि र राजीनामाले मधेस केन्द्रित राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।


प्रतिक्रिया