सुनसरीमा लागु औषध दुर्व्यसन विरुद्धमा पुनः फ्यान

Jhalkonepal

 

 सुनसरी, मंसिर २९  

सुनसरी जिल्लामा लागु औषध दुर्व्यसन  विरुद्धकाे अभियान पुनः विद्यालयमा केन्द्रित भएर सञ्चालन हुने भएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय सुनसरीमा बसेको फ्यान एक्सन  जिल्ला कार्य सम्पादन समितिको बैठकले लागु औषध दुर्व्यसन   विरुद्धकाे अभियानलाई पहिलो चरणमा पहिला सञ्चालनमा आएका तर विविध कारणले सकृयरुपमा क्रियाशील नरहेका ३८ वटै विद्यालय सहित १२ वटै स्थानीय निकाय भित्रका विद्यालयहरू केन्द्रित गर्ने निर्णय गरेको छ ।फ्यान एक्सन जिल्ला कार्यसम्पादन समिति जिल्ला भरी गठन हुने फ्यान क्लबलाई सञ्चालन गर्न तथा जिल्ला स्तरमा लागु औषध दुर्व्यसन  विरुद्धको अभियान चलाउन १३ सदस्य समितिको रूपमा रहेको छ । शुक्रवार भएको बैठकले पहिलो चरणमा पूर्वगठित ३८ वटा विद्यालयमा रहेको फ्यान क्लबको सक्रियताका लागि सो विद्यालयहरूमा पुनर्गठन गर्ने र  विद्यालयहरूमा के कसरी यो अभियानलाई पुन अघि बढाउने भन्ने विषयमा अभिमुखीकरण दिने  जिल्ला फ्यान एक्सन समितीका सहसंयोजक कृष्ण दाहालले बताउनुभयो ।


यसैगरी पुनर्गठन सँगै स्थानीय सरकारलाइ यो अभियानको आवश्यकता अनुभूति गराउन स्थानीय नगर तथा गाउँपालिका स्तरीय कार्यक्रम याेजना गरी   लागु औषध दुर्व्यसनको सुनसरीमा कस्तो अवस्था छ ? यो अवस्थामा स्थानीय नगर तथा पालिकाले खेल्नुपर्ने भूमिका विषयक अभिमुखीकरण कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।यसका लागि बैठकले कार्यक्रम सञ्चालनको प्रारूप तयार गर्न पाँच सदस्य उपसमिति समेत गठन गरेको छ । उपसमितिमा अधिकारकर्मी  रमेश भट्टराई,विमला घिमिरे, अधिवक्ता कृष्ण प्रसाद दाहाल, पत्रकार जयकृष्ण यादव र रुमा रिजालले सहजीकरण गर्ने समेत निर्णय भएको हो ।

त्यसैगरी सो अभियानलाई आआफ्नो क्षेत्रमा सञ्चालन गर्न जिल्लाका १२ वटै स्थानीय नगर तथा पालिकाहरूले  दुर्व्यसन विरुद्धको अभियानका लागि छुटै फोकल पर्सन समेत तोकेका छन् । जिल्लाका १२ वटै स्थानीय निकायले फोकल पर्सन तोकेर समुदाय तथा प्रहरी दुवैले सहकार्य गरी जिल्लामा यस प्रकारको अभियान पुन विद्यालय स्तरमा सञ्चालन हुन गइरहेकाले जिल्लामा व्याप्त रहेको लागु औषध दुर्व्यसनको जालो तोड्न फ्यान  क्लब सफल रहने  फ्यान एक्सन  जिल्ला कार्य सम्पादन समितिका संयोजक तथा प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले बताउनु भयो । जिल्लामा २०७६ सालमा फ्यानले लागु औषध दुर्व्यसनको अभियान विद्यालय स्तरबाट सुरू गरेकाे थियाे ।  

प्रतिक्रिया