काठमाण्डाै, भदाै २१
सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँचबुझ
आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रारम्भिक प्रतिवेदन
बुझाएको छ ।
प्रारम्भिक
प्रतिवेदन अनुसार दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले
अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको
पालना नगरेको पाइएको छ ।
यस्तो
म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । सौर्यसँग त्यस्तो
म्यानुअल भए पनि त्यसको पालना नभएको देखिएको छ । उक्त म्यानुअलमा सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र
कसरी सुरक्षित राख्ने भन्ने उल्लेख हुन्छ । यसको परिपालना नभएको प्रारम्भिक
प्रतिवेदनले देखाएको छ ।
साथै, जहाजले कार्गोसहित लोड बोकेर
उड्दा बाहिरको तापक्रम, विमानस्थलको
उचाइ, लोडसहित
आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । जसलाई ‘भी–स्पीड’
भनिन्छ । यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ ।
यसलाई समेत
आयोगले दोस्रो सम्भावित कारण भनेको छ । यस्तो विधि उल्लेख भएको ‘क्विक रिफरेन्स
ह्यान्डबुक’ पाइलटसँग हुने गर्छ । जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने
(फेरी फ्लाइट) अनुमतिमा उल्लेख नियमहरूको पूर्णपालना हुन नसकेको समेत उल्लेख गरेको
छ ।
जाँच
आयोगको प्रारम्भिक प्रतिवेदनमा वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने
लापरबाहीतर्फ संकेत गरिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणले आँखा चिम्लिरहेको
समेत देखिन्छ । अबको जाँच सोहीतर्फ उन्मुख हुने समेत प्रारम्भिक प्रतिवेदनमा
उल्लेख छ ।
यद्दपि, प्रारम्भिक प्रतिवेदनमा आएका
कतिपय विषय पूर्णप्रतिवेदन आइसक्ने समयमा थप सूचनाका आधारमा अर्को निष्कर्षमा
पुग्ने सम्भावना समेत हुन्छ ।
सौर्यको
दर्ता नम्बर ‘९एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन
विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु थियो ।
क्याप्टेन
मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । जहाज उडेको २० सेकेन्डमै जहाज दाहिनेतर्फ
कोल्टिँदै भुइँमा बजारिएको थियो । धेरै यात्रुको सोही क्रममा ज्यान गएको समेत
प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाको १ मिनेट ४० सेकेन्डमा दमकल घटनास्थल
पुगेको समेत प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनले
सबै वायुसेवा कम्पनीलाई कार्गो उडान सम्बन्धी म्यानुअल पालना गर्न सुझाव दिएको छ ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले
नियमितबाहेकका ‘गैरआम्दानी’ वा ‘फेरि’ उडानहरूको अनुमति दिनका लागि कार्यविधि
बनाउन सुझाव दिइएको छ ।