काठमाडौं, पुस १
राजा महेन्द्रले प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ।
वि.सं. २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको आजैका दिनबाट सुरूवात गरेका थिए।
आजको दिन तरुण दल लगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रूपमा मनाउँदै आएका छन्।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो। यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो।
पुस १ गतेको घटनापछि वीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो।
विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई वीपी सङ्ग्रहालयका रूपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ।