बाजुरा- मुलुकभर झैँ बाजुरामा पनि २२ औं निजामती सेवा दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। 'व्यवसायिक र सिर्जनशिल प्रशासन, विकास, समृद्धि र सुशासन' भन्ने नाराका साथ स्थानीय स्तरमा गरिएको कार्यक्रमले समाजप्रतिको जिम्मेवारी र सेवाभाव झल्काएको छ।
प्रभातफेरी कार्यक्रमसँगै जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रको सरसफाइ अभियान सञ्चालन गरिएको थियो। सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागितामा बजार क्षेत्रमा जम्मा भएको फोहर संकलन गरिएको हो। कार्यक्रमको नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले यो अभियानले निजामती सेवाको सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउने बताए।
'निजामती कर्मचारी केवल कार्यालयको चौकटमा सीमित हुने होइन, समाजप्रतिको उत्तरदायित्व समेत बहन गर्नुपर्ने बेला आएको छ,' प्रजिअ पौडेलले भने।
कार्यक्रमको अर्को विशेष पक्ष अस्पतालमा उपचाररत बिरामीहरूप्रति देखाइएको सहानुभूति रह्यो। बाजुरा अस्पतालमा भर्ना भएका करिब २७ जना बिरामीलाई फलफूल वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावलले जानकारी दिए। साथै, कार्यक्रममा सहभागी सबै निजामती कर्मचारी र पत्रकारहरूको स्वास्थ्य परीक्षण समेत गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले निजामती सेवामा ईमानदारी, निष्ठा, सदाचार र नैतिकता कायम राख्नुपर्नेमा जोड दिए। “हामी स्थायी सरकारका प्रतिनिधि हौं, हामीले जनताको सेवामा कुनै सम्झौता गर्नुहुँदैन,” उनले भने।
निजामती सेवा ऐन २०१३ साल भदौ २२ गते जारी गरिएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ। नागरिकप्रति उत्तरदायी, पारदर्शी र जनमुखी प्रशासन निर्माण गर्ने उद्देश्यका साथ मनाइने यो दिवसले सेवामुखी शासन व्यवस्थाको अभ्यासमा सशक्त सन्देश दिन थालेको छ।