यूएईलाई ४४ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन

Jhalkonepal

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी मेन्स प्रिमियर कप-२०२६ को च्याम्पियन बनेको छ।

मलेसियाको बायुमास ओभलमा शनिबार सम्पन्न खेलमा युएईलाई ४४ रनले हराउँदै नेपालले उपाधि जितेको हो। जितसँगै नेपाल एसिया कपका लागि समेत छनोट भएको छ।

नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा अलआउट हुँदै २ सय ६८ रनमा समेटियो। युएईका लागि राहुल चोपराले १ सय ५ बलमा १०० रनको इनिङ्स खेले। उनीबाहेक ओपनर तनिश सुरीले ४२ रन बनाउँदा कप्तान हरप्रित भटियाले ३३ रन बनाए। त्यस्तै, शोहाइब खानले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा खुजाइमा बिन तनविरले १५ रन बनाएका थिए।

नेपालक लागि करण केसीले ३ विकेट लिँदा ललित नारायण राजवंशीले २ तथा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रन बनाएको थियो। नेपालको उच्च स्कोरमा आसिफ शेखले १ सय ६ बलमा ८ चौका र ४ छक्काको सहयोगमा १ सय २ रनको शतकीय इनिङ्स खेले।

त्यस्तै, गुल्सन झाले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। झाले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै, रोहित पौडेलले ४० रन बनाए। उनले ४४ बलमा २ चौका प्रहार गरेका थिए।

नेपालका लागि ओपनर अर्जुन कुमाल र आसिफ शेखले पहिलो विकेटका लागि ९७ रनको उत्कृष्ट साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। कुमाल ४३ रन बनाउँदा रनआउट भएका थिए। उनले ६३ बलमा ६ चौका प्रहार गरे।

प्रतिक्रिया