नारायणगढ ।
चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९
बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको
मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीका अनुसार
पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल
अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प
७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडी बस्ने गरी ६ जना घाइते
भएको तथा घाइतेमध्ये गम्भिर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला
गाउपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान
करिब १० बजेको समयमा मृत्यु भएको हो ।
स्कुटरको पछाडी सवार स्याङ्जाको फेदीखोला गाउपालिका–२ बस्ने
१७ वर्षीय रश्मी शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर
अस्पताल रत्ननगरमा उपचार भइरहेको छ । त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक
सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज
तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले
जानकारी दिए ।
ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका
प्रेमप्रसाद रिजाल र पछाडी बस्ने गैडाकोट नगरपालिका–८ नवलराससी (वर्दघाट सुस्ता
पूर्व) की बिविका सापकोटाको अवस्था समान्य घाइते रहेको र उनीहरुको बकुलहर अस्पताल
रत्ननगरमा उपचार भइरहेको प्रहरीले बताए ।