रामेछाप- पितृ पक्ष सकिएसँगै दशैँ सुरु भएको छ। घर–घरमा भोलि घटस्थापना गरी जमरा राखिने भए पनि रामेछापको खाँडादेवी मन्दिरमा आजै जमरा राखिएको छ।
देवीलाई चढाइने जमरा घटस्थापनाको अघिल्लो दिन राख्ने परम्परा अनुसार आज खाँडादेवी विकास कोषको आयोजनामा विशेष पूजा गर्दै जमरा राखिएको हो।
जमरा राखेसँगै मन्दिरमा बलि र पञ्चवली पनि खुलेको छ। भक्तजनहरूको भिड बढ्ने अपेक्षा गरिएको छ।
ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा किराँतकालदेखि पूजा हुँदै आएको जनविश्वास छ। मन्दिरमा रहेको ४५० वर्ष पुरानो घण्टा र चाँदीका जन्तरहरू अझै सुरक्षित छन्।
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले खाँडादेवीलाई सहायक गढी बनाएको जनश्रुति पनि छ। त्यसैबेलादेखि विशेष बलि प्रथा चलिआएको हो।
४ असोज २०८२, आईतबार ११:२७ मा प्रकाशित