काठमाडौँ , असोज २९
भारतीय विदेशमन्त्री एस जयशंकर
पाकिस्तान पुगेका छन् ।
शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन
विदेशमन्त्री जयशंकर पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले
उल्लेख गरेको छ ।
जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा
हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् ।
दुई देशबीचको सम्बन्धमा विगत केही
वर्षदेखि देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ
। दुवै पक्षले शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्ष इशाक दारबीच
कुनै द्विपक्षीय वार्तालाई अस्वीकार गरेका छन् ।
करिब नौ वर्षपछि भारतीय
विदेशमन्त्रीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो । कश्मीर मुद्दा र सीमापार
आतंकवादलाई लिएर दुई देशबीचको सम्बन्ध अझै चिसो छ ।
२००१ को जुन १५ मा स्थापना भएको
शाङ्घाई सहयोग संगठनमा १० देश स्थायी सदस्य रहेका छन् । जसमा चीन, भारत पाकिस्तान, बेलारुस, रुस, इरान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान र उज्बेकिस्तान रहेका छन्
।