बैशाखमा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगितामा ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे

Jhalkonepal


काठमाडाैं , चैत २९

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बैशाख ४ देखि ६ गतेसम्म हुने भएको छ ।

 

 उक्त खेलमा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् । विभिन्न ६ खेलमा गरेर ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

 

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वानदो र उसु खेलको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा   हुनेछ ।

 

प्रतियोगिताको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बैशाख ४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित नयाँ रनिङ सिल्ड प्रदान गरिने छ । लुम्बिनी प्रदेशले यसअघिका लगातार तीन संस्करणको उपाधि जित्दै रनिङ सिल्ड आफ्नै बनाइसकेकाले यसपल्ट नयाँ रनिङ सिल्ड पनि तयार गरिएको छ । नयाँ रनिङ सिल्डको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।

समग्रमा उपविजेता र तेश्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया