एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

Jhalkonepal

काठमाण्डौ ,बैशाख ५

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । लामालाई  पेप्सीकोलास्थित उनकै घरबाट पक्राउ गरेको हो ।

लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए । पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए । उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । 

अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए । लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए । 

लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको थियो । सर्लाही घर भएका लामा काठमाडौँ बस्दै आएका थिए । 

गत सातदेखि भने उनी सामाजिक सञ्जालमा सक्रिय देखिएका थिए। एन्फा विधानको धारा २४ मा लागुऔषध बिक्री वितरणको मुद्दामा एक वर्ष वा सोभन्दा बढी कैद सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति एन्फामा निर्वाचित हुन नसक्ने उल्लेख छ। विधानअनुसार लामाको उपाध्यक्ष पद स्वत: खारेज हुन्छ ।

 

प्रतिक्रिया