भक्तपुर, असार १२
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय
सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न आज बसेको राष्ट्रिय परीक्षा बोर्डको
बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक
नन्दलाल पौडेलले जानकारी दिनुभयो । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “नतिजा आज सार्वजनिक
गर्ने तयारी रहेको र बैठक बसेर नमुना अभ्यास पनि गरियो, केही प्राविधिक काम
बाँकी भएकाले भोलि बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने छौँ ।” असार १५
गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो । बोर्डले गत वर्ष
असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो ।
परीक्षा नियन्त्रक पौडेलले यस वर्ष
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुने बताउनुभयो । यस वर्षको नतिजामा
विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २६ दशमलव २५
अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको
ग्रेड सिट आउने उहाँले जानकारी दिनुभयो । आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा
४० प्रतिशतअर्थात् १० अङ्क ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि
परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । विद्यार्थीले दुई विषयमा ग्रेड
वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क
नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका
परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।
गतचैत १५ गतेदेखि
२७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा
दिएका थिए भने ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।