बिराटनगर, फागुन २१
एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कोशीका मुख्यमन्त्री केदार कार्कीको एमालेले राजीनामा मागेको छ ।
काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको हो ।
संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका कार्कीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएको थियो । प्रदेशसभामा कार्कीले राप्रपाका ६ सांसदबाहेक अरुको विश्वासको मत पाएका थिए ।
तर सोमबार नयाँ राजनीतिक समीकरण बनेपछि एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेको हो । नेकपा एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताए ।
२० फाल्गुण २०८०, सोमबार ०५:२३ मा प्रकाशित