बर्दघाट, असार २५
अविरल वर्षाका कारण बर्दघाट आसपासको क्षेत्र डुबानमा परेको छ। बर्दघाट नगरपालिका वडा नम्बर १० र ११ का अधिकांश बस्ती डुबानमा परेका हुन्।
रातभर परेको वर्षाको कारण बस्ती र खेत डुबानमा परेका छन्। बर्दघाट नगरपालिका वडा नम्बरस्थित १० ध्रुव टोल, लण्डन ब्रिज, भुताहा, पानीट्यांकी टोल, बेलटाँडी, मौराहा टाँडी लगायतका टोलहरू डुबानमा परेका छन्।
बस्तीमा पानीको निकास कम भएपछि घरभित्रै पानी पसेको छ। डुबानले घरभित्र रहेका खाद्यान्न, अन्नपात, लत्ता–कपडा भिजेर नष्ट भएका छन्। त्यस्तै गोठमा बाँधिएका वस्तुभाउ, पशुपंक्षी लगायत उद्योग गोदाम र पसलहरू डुबानमा पर्दा ठूलो क्षति भएको छ।
स्थानीय नाला–खहरे र खोलाहरू सफा नहुँदा पानीले निकास नपाएको र खोला थुनिएर बहाव परिवर्तन गर्दा बाढी बस्तीमा पस्ने गरेको छ। निर्माणाधीन पूर्वपश्चिम राजमार्ग उँचो बन्दा सडकदेखि उत्तरतर्फका बस्ती डुबानमा पर्ने गरेका छन्।