काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले संसद बहिष्कारलाई संविधानविरोधी वा लोकतान्त्रिक मूल्यविपरीतको रूपमा चित्रण गरिएकोप्रति आपत्ति जनाएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले सरकार र सत्तापक्षले रास्वपाको आन्दोलन तथा संसद बहिष्कारलाई गलत ढंगले प्रस्तुत गरेको बताउँदै त्यसप्रति गम्भीर असहमति व्यक्त गरिन्।
'सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा म गम्भीर आपत्ति जनाउन चाहन्छु,' डाँगीले भनिन्, 'संसद बहिष्कार संविधानविरोधी होइन, यो लोकतन्त्रभित्रको असहमतिको औपचारिक अभिव्यक्ति हो, जसको अभ्यास विगतमा स्वयं सत्तामा बसेकाहरूले पनि गरेका छन्।'
उनले रास्वपाले संसदमा उठाउँदै आएको आवाज सत्ता पक्षप्रतिको खबरदारी र जनताका सरोकार प्रतिनिधित्व गर्न गरिएको आन्दोलनको भाग भएको स्पष्ट पारिन्।
'लोकतन्त्र संख्याको बलमा मात्र सरकार चलाउने माध्यम होइन,' उनले जोड दिइन्, 'प्रतिपक्षको आवाज सुन्ने, छलफल गर्ने र बहस गर्ने संस्कार नै लोकतन्त्र हो भन्ने कुरा सत्तापक्षले बिर्सनु हुँदैन।'