राजविराज- पछिल्ला दिनहरूमा परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको छ। आइतबार बिहान ८ बजेको मापन अनुसार नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३ सय ६९ क्यूसेक पुगेको छ, जुन सामान्य भन्दा तीन गुणा बढी हो।
शनिबार साँझदेखि निरन्तर बढिरहेको बहावले जोखिमको संकेत दिँदै शनिबार रातिदेखि नै सप्तकोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ। नियमअनुसार नदीमा बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि रातो संकेत दिइने गरिन्छ।
सप्तकोशी ब्यारेजका ५६ ढोकामध्ये ५० वटा ढोका अहिले खोलिएका छन्। प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार अझै पनि बहाव बढ्ने सम्भावना छ। यद्यपि, उनले तत्काल पुल आवतजावतमा रोक लगाउने अवस्था नभएको बताएका छन्।
१८ असोज २०८२, आईतबार ०९:३७ मा प्रकाशित