जनकपुर- मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न भएको छ। सभा मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको अध्यक्षतामा बसेको हो।
सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले गुणस्तरीय र सीपमूलक शिक्षामा जोड दिँदै सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले देशका युवाहरू अझै पनि विना सीप वैदेशिक रोजगारीमा जान बाध्य भएको उल्लेख गर्दै, त्यसलाई रोक्न विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गरेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने धारणा राखे।
‘देश आत्मनिर्भर बन्नुपर्ने हो भने दक्षता अनिवार्य हुन्छ,’ मुख्यमन्त्री सिंहले भने, ‘त्यसका लागि विश्वविद्यालयले गुणस्तरीय र व्यावसायिक शिक्षातर्फ ध्यान दिनु आवश्यक छ।’
कार्यक्रममा विश्वविद्यालयका संस्थापक कुलपति तथा पूर्वमुख्यमन्त्री मो। लालबाबु राउतले मधेश विश्वविद्यालय, कृषि विश्वविद्यालय र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशका गौरवका संस्थाको रूपमा चिनाउँदै अझ सुदृढ र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
सभामा विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक बहादुर शाक्यले आगामी नीतिगत कार्यक्रम प्रस्तुत गरे भने रजिष्ट्रार विजयकुमार यादवले आर्थिक वर्ष २०८२/८३ का लागि रु। २२ करोड ११ लाख ३ सय ६८ रुपैयाँ १८ पैसा बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरे।