पोखरा, सावन ७
गण्डकी प्रदेश सरकारले डेङ्गी र कोरोना रोग फैलदै गएकोले उच्च सर्तकता अप्नाउन निर्देशन दिएको छ। गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आज मन्त्रालयमा आकस्मिक बैठक राखी मातहतका निकायलाई रोकथामको तयारीसहित उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
पोखराको चरक अस्पतालमा यसै साता कोरोना सङ्क्रमित ७४ वर्षीया महिलाको उपचारका क्रममा निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसमा चासो र सतर्कता बढाएको हो । प्रदेशभित्र हालसम्म कोरोनाबाट ८ र डेङ्गीबाट ४६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमन्त्री पाठकले डेङ्गी र कोरोना सङ्क्रमणको जोखिम नियन्त्रणका लागि मन्त्रालय मातहतका अस्पताल र जनस्वास्थ्य कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको बताए । उनका अनुसार साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले सङ्क्रमण रोकथाम तथा व्यवस्थापनको तयारी गर्नुपर्ने स्वास्थ्यमन्त्री पाठकले बताए ।