काठमाडौं- जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सर्वोच्च अदालतको संरचना क्षतिग्रस्त बनेपछि हाल त्रिपालमुनी अस्थायी रूपमा मुद्दा सुनुवाइ भइरहेको छ।
भदौ २३ र २४ गते प्रदर्शनकारीहरूले सर्वोच्च अदालत परिसरमा तोडफोड र आगजनी गरेका थिए। सो घटनापछि अदालतको नियमित कार्य सञ्चालन प्रभावित भएको छ। हाल भवन मर्मत र पुनःनिर्माण प्रक्रिया सुरु हुन बाँकी रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
बिहीबार अदालतले दुई जना बन्दीसम्बन्धी मुद्दाको सुनुवाइ त्रिपालमुनी अस्थायी कक्षमा सम्पन्न गरेको छ। असहज परिस्थितिका बाबजुद न्यायिक सेवा नरोकिने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
विधिक शासनको प्रतीक मानिने सर्वोच्च अदालतमाथिको तोडफोड र आगजनीलाई विश्लेषकहरूले लोकतन्त्रमाथिको गम्भीर आक्रमणको रूपमा लिएका छन्। यसबीच, अदालत प्रशासनले यथासक्य छिटो संरचना पुनःनिर्माण गरी नियमित सुनुवाइ पुनःस्थापित गर्ने तयारी गरिरहेको जनाएको छ।