काठमाडौं- काठमाडौं महानगरपालिकाले उज्यालो महानगर बनाउने अभियान अन्तर्गत १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको छ। महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत हालसम्म १२ वटा हाई मास्ट लाइट जडान भइसकेको जानकारी दिएका हुन्।
उनका अनुसार काठमाडौंका विभिन्न स्थानमा कुल ६२ वटा हाई मास्ट लाइट जडान गरिनेछ। करिब १० करोड रुपैयाँको लागतमा लाइट जडानको काम अघि बढाइएको छ। बाँकी लाइट पनि दसैँअघि नै जडान गरिसकिने जनाइएको छ।
महानगरपालिकाले मुलुकको प्रमुख सार्वजनिक यातायात केन्द्र नयाँबसपार्कमा दुईवटा हाई मास्ट लाइट जडान गरिसकेको छ। नयाँबसपार्क सञ्चालक संस्था लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार पार्कभित्र तीनवटा लाइट राख्ने योजना रहेकामा हालसम्म दुईवटा जडान भइसकेका छन्।
यसैबीच, अघिल्लो कार्यकालमा जडान गरिएका तर नबलेका करिब २ हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई अब विद्युतीय लाइटमा रूपान्तरण गरिएको प्रमुख शाहले बताएका छन्। उनका अनुसार ती लाइटहरू अहिले बलिरहेका छन्।
महानगरले झन्डै ८५ करोड रुपैयाँको लगानीमा नयाँ स्ट्रिट लाइट खरिद तथा जडानको काम पनि अन्तिम चरणमा पुर्याएको छ। योजना सफलतापूर्वक सम्पन्न भएपछि काठमाडौं अझ उज्यालो, सुरक्षित र व्यवस्थित महानगर बन्ने अपेक्षा लिइएको छ।