विराटनगर, भदौ २५
प्रदेशको नामको विषयमा उत्पन्न विवादको संवादबाट समाधान खोज्नु पर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । कोशी प्रदेश सभाबाट दुई तिहाइ भन्दा बढी मतबाट कोशी नाम राखिएको विषयमा कोशी प्रदेशको नामबारे असन्तुष्टि फैलिएकाले संवादबाटै समाधान खोज्नुपर्ने उहाले बताउनुभएको हो ।
विराटनगरमा भएको समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उहाले कन्फ्रन्टेसनबाट होइन वार्ताबाट समाधान निकाल्नु पर्ने बताउनुभयो। । प्रधानमन्त्री प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भए लगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको समेत बताउनुभयो। । उहाले भन्नुभयो ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ ।’
उहाले संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरूले फाइदा उठाउन सक्ने बताउनुभयो। । अहिले परिवर्तन उल्टाउन चाहानेहरु एक भएर लागेको र परिवर्तनकारीहरूलाई आक्रमण गरिरहेको बताउनुभयो।
जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक भएर अलिकति डराए जस्तो देखिनु पर्ने ? उहाले परिवर्तन विरोधीहरुको मनोबल कस्तो उच्च भएको भन्दै अव समाजवादी मोर्चाले सहेर नबस्ने बताउनुभयो। उहाले भन्नुभयो जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । उहाले परिवर्तन विरोधीका विरुद्ध मोर्चाले लाखौँ जनता सडकमा उतार्ने समेत चेतावनी दिनुभयो।