काठमाडौं। विदेशको रोजगारीबाट फर्किएर स्वदेशमै केही गर्ने उद्देश्यका साथ सुरु गरिएको ‘शाही बिरयानी’ले छोटो समयमै काठमाडौंमा तीनवटा शाखा विस्तार गरेको छ। करिब दुई वर्षअघि व्यवसाय सुरु गरेको शाही बिरयानीले अहिले कपन, बौद्ध र पेप्सीकोलाबाट सेवा दिइरहेको छ।
शाही बिरयानीकी सञ्चालक श्रुति न्यौपानेका अनुसार स्वादिष्ट, गुणस्तरीय र ताजा खाना उचित मूल्यमा ‘रोयल टच’सहित ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले व्यवसाय सुरु गरिएको हो। अब भने बिरयानीलाई मुख्य उत्पादनका रूपमा स्थापित गर्दै फ्रेन्चाइज मोडलमार्फत देशका विभिन्न स्थानमा व्यवसाय विस्तार गर्ने योजना रहेको उनले बताइन्।
'हाम्रो लक्ष्य सरल छ— स्वादिष्ट, गुणस्तरीय र ताजा खाना उचित मूल्यमा रोयल टचसहित ग्राहकलाई उपलब्ध गराउनु,' नेउपानेले भनिन्, 'ग्राहकको माया र साथ पाए आगामी दिनमा थप शाखा विस्तार गर्ने योजना छ।'
विदेशमा काम गर्दा प्राप्त अनुभवलाई स्वदेशमै प्रयोग गर्ने सोचका साथ व्यवसायमा प्रवेश गरेको नेउपानेको भनाइ छ। विदेश गएर रोजगारी गर्नुभन्दा नेपालमै उद्यम गरेर रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सोचले शाही बिरयानी सुरु गरिएको उनले बताइन्।
'विदेश गएर मात्रै होइन, नेपालमै पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ स्टार्टअप व्यवसाय सुरु गरेका हौँ,' उनले भनिन्।
विशेषगरी महिलाको उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य पनि व्यवसाय स्थापनाको महत्वपूर्ण आधार रहेको नेउपानेले बताइन्। महिलाले पनि व्यवसाय सञ्चालन गरेर रोजगारी सिर्जना गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
शाही बिरयानीमार्फत हाल करिब १० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। नेउपानेका अनुसार विदेशबाट फर्किएको एक व्यक्तिले स्वदेशमै व्यवसाय सञ्चालन गरेर अन्य व्यक्तिलाई रोजगारी दिन सक्नु पनि महत्वपूर्ण उपलब्धि हो।
'सरकारका लागि यो ठूलो योगदान नहोला, तर विदेशबाट एक व्यक्ति स्वदेश फर्किएर १० जनालाई रोजगारी दिन सक्नु हाम्रो लागि महत्वपूर्ण योगदान हो,' उनले भनिन्।
शाही बिरयानीमा नेपाली स्वाद र विदेशी स्वादको फ्युजन गर्दै विभिन्न परिकार उपलब्ध गराइँदै आएको छ। यहाँ शाही बिरयानी, हैदराबादी बिरयानी, मटका बिरयानी, मटका लस्सी, मटका चिया, होममेड मःमः तथा विभिन्न स्न्याक्स मुख्य आकर्षणका रूपमा रहेका छन्।
ग्राहकको स्वाद, चाहना र प्रतिक्रियालाई व्यवसायको महत्वपूर्ण आधार बनाइएको नेउपाने बताउँछिन्। ग्राहकको माया र विश्वासकै कारण छोटो समयमै तीनवटा शाखासम्म विस्तार गर्न सफल भएको उनको भनाइ छ।
अबको मुख्य लक्ष्य शाही बिरयानीलाई देशका विभिन्न स्थानमा पुर्याउनु र फ्रान्चाइज मोडलमार्फत व्यवसाय विस्तार गर्नु रहेको उनले बताइन्। साथै, व्यवसाय विस्तारसँगै थप रोजगारीका अवसर सिर्जना गर्ने योजना पनि रहेको छ।
विदेशबाट फर्किएका नेपाली युवाले नेपालमै उद्यम गरेर आफू मात्र नभई अरूलाई समेत रोजगारी दिन सक्छन् भन्ने उदाहरण बन्ने शाही बिरयानीको लक्ष्य छ।
'भविष्यमा धेरैभन्दा धेरै युवालाई स्वदेशमै रोजगारी दिन सकियोस् र विदेशबाट फर्किएका नेपालीले पनि नेपालमै उद्यम गरेर अरूलाई रोजगारी दिन सक्छन् भन्ने उदाहरण बन्न सकियोस् भन्ने हाम्रो चाहना हो,' नेउपानेले भनिन्।
शाही बिरयानीले आगामी दिनमा ग्राहकको साथ र विश्वासलाई निरन्तरता दिँदै आफ्नो सेवा र व्यवसायलाई देशभर विस्तार गर्ने लक्ष्य लिएको छ।