भेरीगङ्गा (सुर्खेत), कात्तिक १९
जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ ।
प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन् । जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका भूकम्प पीडितले भन्नुभयो “भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुुटु कापिरहेको छ । रातभर निदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ । ”
भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पु¥याएको छ । बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको किन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंकरूपमा क्षति भएकै छन् ।
परम्परागत घरमा क्षति धेरै
सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । ती दुई जिल्लाका भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकाको समन्वयात्मक काम गरेको देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताउनुभएको थियो । यसअन्तर्गत भूकम्प प्रभावितको उद्धार करिब अन्तिम चरणमा पुगेको हो ।
यस्तै प्रभावितलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्रीको पनि कमी हुन दिएका छैनन् । कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने अन्य विभिन्न सङ्घसंस्थाले समेत राहत सामग्री वितरण गरेको जनाइएको छ ।
–––
१८ कार्तिक २०८०, आईतबार ०८:४८ मा प्रकाशित