विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

Jhalkonepal

काठमाडौं- जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट फरार भएका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबार उनीहरूलाई पक्राउ गरी पुनः सम्बन्धित कारागार तथा सुधारगृहमा पठाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सात जना कास्की कारागार, तीन जना केन्द्रीय कारागार जगन्नाथदेवल, एक जना तनहुँ कारागार र एक जना बालसुधार गृह सानोठिमी, भक्तपुरबाट फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार प्रदर्शनका बेला भागेका कैदीबन्दीहरूलाई विभिन्न स्थानमा अपरेशन चलाएर पक्राउ गरिएको हो। पक्राउ परेकालाई केही समय प्रहरीको थुनुवा कक्षमा राखी आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकिएको विकले जानकारी दिए।

पक्राउ परेकाहरूको विवरण कास्की कारागारबाट भागेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामा, केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङ, तनहुँ कारागारबाट फरार विशाल उपरकोटी र बालसुधार गृह सानोठिमीबाट फरार सुस्मा मग्राती रहेका छन् ।

प्रहरीका अनुसार गोरखाबाट पक्राउ परेकामध्ये अधिकांशको स्थायी ठेगाना गोरखा जिल्लामै रहेको छ भने केही अन्य जिल्लाका पनि छन्। फरार अन्य कैदीहरूको खोजी कार्य र विवरण संकलनको काम अझै जारी रहेको प्रहरी उपरीक्षक विकले बताए।

प्रतिक्रिया