काठमाडौं- रूसले युक्रेनको जापोरिझ्झिया क्षेत्रस्थित ओल्गोभ्स्को नामक बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ। रूसी रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा पछिल्लो २४ घण्टामा युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण जारी राखिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा सुमी, खार्किभ, डोनेट्स्क, जापोरिझ्झिया र खेरसोनसहितका दिशामा युक्रेनी सेना र तिनका सैन्य उपकरणहरूलाई निशाना बनाइएको जानकारी दिइएको छ।
यता, युक्रेनले रूसी आक्रमणहरूलाई विभिन्न मोर्चामा परास्त गरिएको दाबी गरेको छ। युक्रेनी सशस्त्र बलको जेनरल स्टाफले सोमबार राति जारी गरेको अपडेट अनुसार अग्रपंक्तिमा १७३ वटा भिडन्त भएको र लिमान, टोरेत्स्क लगायतका क्षेत्रमा रूसी आक्रमणहरू फिर्ता गराइएको उल्लेख गरिएको छ।
दुवै पक्षका दाबीहरूबीच अग्रपंक्तिमा युद्ध झन् तीव्र हुँदै गएको देखिन्छ। युक्रेनी पक्षले रूसी सेना निरन्तर आक्रमण गरिरहेको र आफूहरूले प्रतिरक्षा बलियो बनाइरहेको उल्लेख गरेको छ।
हाल युद्धको स्थिति स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको भए पनि दुबै देशका सैन्य स्रोतहरूले भिडन्त जारी रहेको जनाएका छन्।