काठमाडौं, भदाै २८
काठमाडौँको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने
भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले
संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने
निर्णय गरेको हो ।
धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई
दिइएको छ । २०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ ।
बाहिरी स्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्रि संरचना भने फरक छ ।
बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्रि संरचना २२
तलाको छ । दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ । भूकम्पले
भत्किएको पुरानो धरहराको भग्नावशेष खुला रूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित
राखिएको छ ।
धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ । धरहरा परिसरमा
प्रशासनिक भवन र सङ्ग्रहालय लगायतका संरचना पनि बन्दै छन् । धरहराको उद्घाटन भने
तीन वर्षअघि नै भइसकेको हो ।