रोशी खोलाको बाढीले बिपी राजमार्ग भत्कायो, मर्मतका लागि कम्तीमा एक हप्ता लाग्ने

Jhalkonepal

रामेछाप- लगातार परेको वर्षाले रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको ठूलो भाग बगाएको छ, जसले गर्दा हाल सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

नेपालथोकका स्थानीय राज मैनालीका अनुसार, बाढीले गत वर्ष क्षति पुगेको भागलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालनमा ल्याइएको थियो। तर यसपटक सोही स्थान पुनः बाढीले बगाएको छ। बाढीले खोला किनारमै निर्माण गरिएको सडकका धेरै खण्डहरू पूर्ण रूपमा नष्ट पारेको जनाइएको छ।

बिपी राजमार्ग अवरुद्ध भएपछि पूर्वी नेपालबाट काठमाडौं आउने सवारी साधनहरू अब दोलखाको चरिकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्।

सडक विभागका महानिर्देशक विजय जैशीले अहिले खोलामा पानीको बहाव धेरै भएकाले तत्काल मर्मत सम्भव नरहेको जानकारी दिए।'खोलाको बहाव कम भएपछि मात्र काम सुरु गर्न सकिन्छ,'उनले बताए, 'सडक मर्मत पूरा गर्न कम्तीमा सात दिन लाग्नेछ।'

गत वर्षको असोज महिनामा पनि यस्तै बाढी आउँदा राजमार्गमा ठुलो क्षति पुगेको थियो। बर्सेनि दोहोरिइरहेको यस्तो प्राकृतिक प्रकोपका कारण स्थानीयवासी र यात्रुहरूलाई ठूलो समस्या हुने गरेको छ।

प्रतिक्रिया