भरतपुर , बैशाख १
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।
आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटकलाइ घुमाउन लगेका गोरखा आरुघाट ८ , पोखरी घर भई रत्ननगर नगरपालिका ६, सौराहामा बस्दै आएका ३२ वर्षीय सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको हाे ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । रेग्मी सौराहाको जंगलले वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए ।
रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको बताए ।