काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सुविधा सञ्चालनका लागि औपचारिक सम्झौता भएको छ।
नेपाल टेलिकमको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के प्रधान र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, वाणिज्य बैंकले टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्नुका साथै हाल कार्यरत कर्मचारीहरूलाई तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा तथा अन्य बैंकिङ सेवा उपलब्ध गराउनेछ।
बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीका अनुसार, वाणिज्य बैंकले हाल देशभर ७७ वटै जिल्लामा फैलिएका ३१० शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकले वित्तीय समावेशीकरण, प्रविधिमा आधारित सेवा विस्तार र दिगो बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै आएको पनि उनले जानकारी दिए।