काठमाण्डौ, माघ १४
शनिबार अपराह्न ६ बजेतिर
गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला आयोजनाले बाँध खोलेर
नदीमा पानी पठाएको थियो । 'लास जलिसक्न अझै २ घण्टा लाग्ने
अवस्था थियो, पानी बढेकोले लास बग्यो,' मलामी गएका राजेन्द्र बस्नेतले
भने । पानी
बढेकाले मलामीका केही सामानसमेत बगेको उनले बताएका छन् ।
रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेको लिखु २ जलविद्युत् आयोजनाले
बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगाएको थियो ।
बाँध खोल्दा आयोजनाले स्थानीयलाई जानकारी दिनुपर्नेमा उल्टै लास
जलाइरहेको बेला पनि बाँध खोलिदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
नदीमा पानीको बहाव बढेर लास बगाएपछि मलामीले बाँध खोल्ने आयोजनाका कर्मचारी सञ्जीव
खनाललाई समातेर प्रहरीलाई जिम्मा लगाएको छ ।
‘लास भर्खरै जल्न लागेको थियो, एक्कासी नदीमा बाढी आयो, केही मानिसहरुलाई पानीले भेटिसकेको थियो, जसोतसो मलामी त भागे तर लास बगायो’
मृतकका आफन्त समेत रहेका सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष
ध्रुव बस्नेतले
भन्नुभयो ।
लास बगाएपछि बेलुकै सोलुखुम्बुको
किञ्जामा रहेको प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनास्थलमा पुगेको हो । खनालले
मेसिनमा समस्या आएकोले बाँध खोल्नुपरेको बताएका स्थानीयले बताएका छन् । दुगड
समूहको लगानी रहेको ५५ मेघावाट क्षमताको लिखु २ जलविद्युत् आयोजनाले केही
महिनाअघिदेखि व्यावसायिक उत्पादन दिन थालेको हो ।
आयोजनाले खोलामा छाड्नुपर्ने जति
पानी नछाडेको भन्दै स्थानीयले यसअघि पटकपटक आयोजनाको ध्यानाकर्षण गराउँदै आएका थिए
। खोलामा लास जलाउन पानी नै नहुने अनि बगरमा लास जलाइरहँदा पानी छाडिदिने गरेर आयोजनाले
त्रसित बनाएको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला
प्रहरी कार्यालय रामेछापले जनाएको छ ।