काठमाडाैं , चैत २९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले
मंगलबार काठमाडौंमा प्रदर्शन गर्ने क्रममा फोहोर गरेको भन्दै काठमाडौं
महानगरपालिकाले राप्रपालाई तीन दिनभित्र
महानगरको कार्यालयमा उपस्थित हुन पत्र काटेको छ ।
अध्यक्ष लिङदेनलाई सम्वोधन गरेर पठाएको पत्रमा महानगरले
उक्त फोहोर संकलन गरी एक ठाउँमा फ्याक्न पनि आग्रह गरेको छ । साथै प्रदर्शनको
क्रममा प्रदर्शनीमार्ग स्थित ट्राफिक आईल्याण्डमा क्षति पुगेको महानगरले जनाएको छ ।
पत्रमा भनिएको छ, ‘चैत २७ को पार्टी
कार्यालयको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिका
अन्तर्गत प्रदर्शनीमार्ग स्थित ट्राफिक आइल्याण्डमा क्षति पुगेको हुँदा त्यस
विषयमा छलफल गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र यस
कार्यालयमा उपस्थित हुन जानकारी गराउँदछु ।’ महानगरपालिकाले दिएको निर्देशन पालना
नगरे स्थानीय शासन ऐन अनुसार कारवाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।
राप्रपाले विभिन्न ४० बुँदे माग राखेर
प्रदर्शनमा उत्रिएको थियो । जसमा राप्रपाको प्रदर्शनको क्रममा पुतलीसडक, भद्रकाली क्षेत्रको
सडक कुरूप भएको हाे ।