रामेछापमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रमसहित संविधान दिवस मनाइयो

Jhalkonepal

रामेछाप- संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइएको छ।

दिवस मूल आयोजक समितिको आयोजनामा भएको प्रभातफेरी मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा समापन गरिएको थियो।

जिल्ला समन्वय समितिमा आयोजित औपचारिक कार्यक्रममा संविधानका विशेषता र यसको कार्यान्वयन सम्बन्धी विषयमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा रामेछाप बारका अध्यक्ष यादव दाहालले संविधान २०७२ का महत्वपूर्ण पक्षहरूबारे कार्यपत्र प्रस्तुत गरे। उक्त कार्यपत्रमाथि जिल्लास्तरका राजनीतिक दलका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमकी अध्यक्ष तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले देश अहिले जटिल संक्रमणकालीन अवस्थामा रहेको उल्लेख गर्दै संविधानको रक्षा र कार्यान्वयनमा सबैको साझा भूमिका आवश्यक रहेको बताइन्। उनले उपलब्ध वर्तमान अवस्था यही संविधानले दिलाएको भन्दै यसको संरक्षण सबैको दायित्व भएकोमा जोड दिइन्।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक रहेको दाबी गर्दै यसको कार्यान्वयन प्रक्रियामा देखिएका कमजोरीहरूमाथि गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी कर्मचारी, राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया