नगरपालिकामा युवाहरूले लगाएको तालाबन्दी खोलियो, मागहरु पुरा नभए पुनः तालाबन्दी गर्ने चेतावनी

Jhalkonepal

बाजुरा- पूर्वी उत्तरी बाजुरास्थित बुढिनन्दा नगरपालिकामा केही समयअघि स्थानीय युवाहरूले गरेको तालाबन्दी हटाइएको छ। नगरपालिकाले उठाइएका मागहरू एक साताभित्र सम्बोधन गर्ने सहमति दिएपछि ताला खोलिएको हो।

कोल्टी बजारमा खानेपानी र विद्युत सेवा सहज बनाउनुपर्ने माग राख्दै स्थानीय युवाहरूले नगरपालिका कार्यालयमा ताला लगाएका थिए। उनीहरूले वर्षौँदेखि नियमित रूपमा समस्या झेल्दै आएको भन्दै तत्काल सुधारको माग गरेका थिए।

ताला खोल्नु अघि तालाबन्दीमा सहभागी युवाहरू र नगर उपप्रमुख राम बहादुर बोहरा बीच छलफल भएको थियो। छलफलपछि नगरपालिका पक्षबाट एक साताभित्र समाधान गरिने आश्वासन दिएपछि ताला हटाइएको हो। तर, समयमै माग सम्बोधन नभए पुनः तालाबन्दी गर्ने चेतावनी युवाहरूले दिएका छन्।

कोल्टीमा दुई दशकअघिदेखि नै विद्युत सेवा रहे पनि जुड्डीगार्ड लघुजलविद्युत आयोजनाको नहर बारम्बार भत्किने समस्या आइरहेको छ। अनियमित विद्युत आपूर्तिका कारण स्थानीय बासिन्दालाई मोबाइल चार्ज गर्न समेत सामुदायिक रेडियोमा लाइन बस्नुपर्ने बाध्यता छ।

त्यस्तै, स्थायी स्रोत अभावका कारण कोल्टीका बासिन्दा खानेपानीको अभाव झेलिरहेका छन्। यद्यपि, पछिल्लो समयमा नगरपालिका स्थायी समाधानको दिशामा सक्रिय देखिएको छ। विद्युतका लागि केन्द्रीय प्रसारण लाइन जडानको अन्तिम तयारीमा पुगेको जनाइएको छ भने खानेपानीका लागि समेत बृहत योजना अघि बढाइएको छ।

प्रतिक्रिया