काठमाडौँ, साउन १२
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी
तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण
पुष्टि भएको जनाएको छ ।
ललितपुरमा सात र
कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले
जानकारी दिए । उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको
व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए।
उनले भने, ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग
पनि जोडिएको छ। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट
मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर
पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ।’
हैजा ‘भिब्रियो कोलेरी’
प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा.
शेरबहादुर पुनले भने,
‘हैजाका जीवाणु संक्रमित
खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो
रोग फैलिने सम्भावना रहन्छ।’
हैजालगायत पानीजन्य
रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात
धुनुपर्ने विज्ञहरुको सुझाव छ ।