कथा – एयरपोर्ट

Jhalkonepal

शोभा बजगाईं


मेरो फोन बज्यो । लगभग साँझको आठ बजेको थियो । द्रु कलरले नाम रिड गर्यो। ’साभार सापकोटा’ कलिङ । धेरै वर्ष अघि उ मेरो फोनबाट डिलिट’ भएको थियो । उसको नाम सेभ थिएन । न त हामी अन्य कुनै माध्यममा ’कनेक्ट’ थियौँ । न त कहिले संवाद नै हुन्थ्यो  ।


म स्तब्ध भए । एन्जाइटी आयो । फोन हातमा लिएर यता –उता हिँड्न थाले । चिट चिट पसिना आयो । उठाऊ कि नउठाउँ भए । तर अन्त्यमा उठाए । ऊ बोल्यो । यस्तो लाग्यो म सुनिरहूँ । अनि  ऊ बोलिरहोस् । यो समय हाम्रो गतिमा चलिरहोस् । र घडिमा आठ मात्र बजिरहोस् । मैले यति सोच्दा नसोच्दा.......उसले भन्यो ।  मेरो भोलि राती नौ बजे  काठमाडौँको फ्लाइट छ ।  समय मिल्छ भने तिमी अफिस सकेर यतै यतै एयरपोर्टमा आउन सक्छौ ? उ नेपाल आइसकेको रहेछ । आएर पनि उसको फर्किने समय भइरहेको रहेछ ।बिराटनगर छोड्नु अघि मात्र उसलाइ मेरो याद आएछ । यतिका दिन घरमा बसेर पनि उसले मलाइ खबर गरेन तर अब जानु अघि उसको मेसेज देखेर म अन्यौलमा थिए । 


भेटेर चिया खाउँ न हुन्न ? उसले फेरी आग्रहपूर्ण मेसेज गर्याे । 

मैले पनि सहज रूपमा हुन्छ भने । किनकि मलाई पनि उसलाई अघाउन्जेल हेर्न थियो । हृदय भरी सुमसुम्याउन थियो । प्रेमको एउटा मीठो विगत गज्जबले कोट्याएर फेरि पनि दुख्नु थियो। किनकि हामी दुबैलाइ दुख्ने आदत बनेको थियो । फेरि एक पटक समयले नोस्टालजिक बनाइदियो है हामिलाइ ? ऊ यति भनेर मुस्कायो । मैले मौनतामै सहमति जनाए । उसले भोलि भेट्ने सहमति गर्दै फोन राख्यो ।


यो रातको समय कति लामो हुन्छ भन्ने हिसाब गर्न बिर्सेको रहेछु । उसले पुनः सम्झाइदियो । यो अनिद्रा । यो छटपटी । यो उत्साह। अनि भोलि उसलाइ भेट्ने उत्कट चाहना । ६ वर्षमा उ कस्तो भयो होला ?


उसलाइ फ्रेन्च दारी एकदम सुहाउँथ्यो, दारी कस्तो राख्या होला ? अक्सर उसले कपडाको पाइन्ट र चेक सर्ट लाउँथ्यो, के लाएर आउँछ होला ? मैले उसको बर्थडे मा दिएको ’मरुन’ कलरको टी–सर्ट अझै उ सँग छ कि छैन होला? ’राडो’ को घडी लाउन छाड्यो कि अझै लाउँछ होला? अनि उसको फेभरेट पर्फ्युम ’सेट्वेट’ जसको बास्नाले अझै मलाइ उसैको याँद दिलाउँछ, आज–भोलि लाउँछ कि लाउँदैन होला ?


धेरै जनासङ भेट हुन्छ जीवनमा फरक फरक उद्देश्यका लागि । कुनै सहज । कुनै असहज । कुनै सामान्य । कुनै अप्रत्याशित । तर यो कस्तो भेट हो । मैले ठम्याउन सकेको थिइन । म एउटा गतिमा दगुर्न बानी परिसकेकी  थिए । अचानक हुन्डरी आएको थियो मनमा । लयमा बगेको शान्त नदिमा एकाएक कसैले ढुङ्गा हानेको थियो ।


“ह्वास्टस एप“ मा म्यासेज आयो .... निन्द्रा लाग्यो तिमिला ? मलाई त कतिखेर भोलि होला भैराछ।  यसो घडी हेरे रातको १२ः३० बजेको थियो । साभार को म्यासेज । कस्तो मान्छे तिमी....सुत भनेर म्यासेजको रिप्लाई गरे ।


तिमी कस्ती भयौ होला है....

मलाई भेट्ने बित्तिकै के गर्छौ होला भोलि.....

धेरै बेर बसौँ ल गफ गरेर....

तिम्लाइ धेरै कुरा भन्न छ....

’एक्चुय्ल्ली’ जिन्दगी सुनाउनु छ ।


कन्टिन्यु म्यासेज आइर्याे । म रिप्लाई गरिरहे । बिहान सम्म हामी बोलिर्यौं । कुनै पावन्दिले हामिलाइ रोक्न सकेन । जम्नु नियति रहेछ । तर, जमेपछि पग्लनु विज्ञान पनि त हो । नियतिले जम्यौँ  र नियतिले नै पग्लँदै थियौँ । कति कति बेला  आफैले आफैले ब्रेक लाउँथ्यौ । सुनसान थियो रात । तर हामी भने “लाउड“ थियौँ ।


जुन उदाएको रात आ– आफ्नो आकाश हेर्दै भूगोलको उत्तरी र दक्षिणी गोलार्धबाट घण्टौँ कुरा गर्थ्यौं हामी। तिनै जुनलाई एक अर्काको खबर पठाउँथ्यौँ । मैले मन मनै सोचेँ, त्यो गफमा के छुटेको थियो  र यो गफ मा के बाँकी छ छुट्न ? आखिर दुवै गफ हामी बाट छुट्ने त हो । अनि फेरि पनि हामी छुट्नकै लागि जुट्दैछौं । यो कस्तो विडम्बना ?

मेरो घरको बाटो हुँदै ऊ कलेज जान्थ्यो । उसको र मेरो कलेज नै फरक थियो । तर साथीहरू भने एकै “सर्कल" का थिए । मैले नभने पनि । उसले नभने पनि । एकअर्काका समाचार हामी सामुआइपुग्थे । समाचार सँगै भावना आउन थाले । त्यही भावनामा कति बेला माया मिसिएर आयो हामीले पत्तै पाएनौँ । यसै यसै समय हाम्रो बन्यो । र एक आपसमा हामी बन्यौ । भेडेटारको "रातो भाले" धरानको "हरियाली पार्क" इटहरी को "चिन्तन चौतारी" हामी धेरै पटक "डेट" गएको ठाउँ हो । जहाँ अझै पनि  मायाका अनगिन्ती रङ्गहरू छन् । हामीले बगाएका आँसुका अवशेष छन् ।


ऊ सँगको संवाद के का लागि ? अनि भोलिको भेट पनि के का लागि ? यो प्रश्नले मलाई नमज्जाले चिमट्यो । आफैले आफैलाइ  निर्मम प्रश्न गरे । नभेटौँ...म कसरी यस्तो निर्दयी हुन सक्छु ? भेटौँ... यो कस्तो दोधार । कस्तो दोसाँध । सम्बन्धहरू सधैँ सापेक्षिक हुँदैनन् । फेरि कुनै कुनै सम्बन्ध यस्ता हुन्छन् जसलाई न औपचारिकता न अनौपचारिकता, केही  आवश्यक पर्दैन । बस् उपस्थिति र निकटता ।


"हरायौँ त" उसले फेरि म्यासेज ग¥यो ....


"ह्या म आउँदिन" भनेर म्यासेज टाइप गरे । औलाहरू अड्किए  "किप्याडमा" ।

"साभार" किन भेट्ने हामी ? मैले सोधेँ ।


तिमिले विवाह गर्याै कोहीसङ,  मैले विवाह गरेँ कोहीसङ  तर तिमि र मैले एक आपसमा प्रेम पनि त गरेका हौँ । जसलाई  विवाहको रूप दिन सकेनौँ । के प्रेमको गन्तव्य विवाहमा  टुङ्गिनु हो र ! विवाहमा परिणत नभएका प्रेमहरू बाँचिरहन सक्दैनन् र ! युग युग सम्म ।


जिन्दगी "चोइस" पनि त हो । हामी हाम्रो "चोइस" ले छुट्टियौ आफ्नो "चोइस" को मालिक आफै हो नि ! हैन र ? महिलाको हकमा उनको निजत्व त्यति सहज छैन हाम्रो समाजमा त्यो म बुझ्छु । फेरि यसो भनेर तिम्रा तमाम सम्बन्धहरूप्रति बेइमानी रोप्न खोजेको हैन मैले । पटक्कै हैन । तर  निजी कुराको मालिक आफू बन्नु पर्छ । चाहे तिमी या म । साभारले ’रिप्लाई’ गर्यो ।


अक्सर हाम्रो "कन्भरसेसन" मा उ बोलिरहन्थ्यो म अडिएर...."अनि अरू" भन्थे ...उसलाई "अनि अरू"... भनेको एकदम मन पर्थ्यो । अचानक फुत्केछ...."अनि अरू" 


फेरि भन न "अनि अरू"......उसले भन्यो ।


अचानक मेरा आँखा रसिला बनेँ ।

तमाम प्राविधिकता र सामाजिक सांस्कृतिक उल्झन सँग तिमी डरायौँ? साभारले सोध्यो?

अं.......भन्न मन थियो । तर अं...नभन्न पनि उत्तिकै मन थियो । मौन रहे ।

सोचेँ प्रेम, विवाह र यौन । यी तीन फरक तर आंशिक रूपमा सापेक्षित चिज हुन् । निरपेक्ष हैनन् । यसमा म स्पष्ट छु । म स्पष्ट  हुनु भनेको सबै स्पष्ट हुनु पनि त हैन । फेरि अष्पटता र भय एउटै चिज पनि त हैन नि ! साभार । म बोले....


फेरि थपे । यसलाई म जोखिमको रूपमा पनि लिन चाहन्न । बुझ्नु पर्छ सबैले । सबै सम्बन्धको मर्म र गरिमा । अर्थ र आत्मीयता । र बुझ्नुपर्छ हरेक निरपेक्ष सम्बन्ध को महत्वको गहिराइ । किन सम्बन्ध तैरिन्छ र किन सम्बन्ध गहिरिन्छ भन्ने व्यक्तिको निजत्व ले निर्धारण गर्छ ।


भोलिपल्ट चाडै उठे । बिहानीको घाम पनि सधैँ जस्तो थिएन । मेरै लागि मात्र उदाए जस्तो । विशेष उज्यालो । आफ्नै शरीर छामे एक पटक । महसुस गरे । कस्तो अनुभूति हो यो ? अनौठो । अनौठो । उसलाई मेरो लामो कपाल मन पर्थ्यो । मैले त कपाल काट्या छु । के भन्छ होला......  फेरि सोचेँ यो मेरो निजत्व हो । जे सुकै भनोस् । यस्तै यस्तै अनेक तर्क गर्यो मनले मनसङ । उसलाइ मन पर्ने । मन नपर्ने । ऊ खुसी हुने । दुःखी हुने । सबै सम्झनाको बहिखाता अगाडि उभियो ।


उसको ९ बजे रातीको फ्लाइट थियो । एयरपाेर्ट पुग्ने समय ८ बजे हाेला त्यसैले एकघण्टा गफिनकाे लागि पनि ७ बजे पुग्नु पर्याे । मनमनै साेचे यतिका बर्ष पछि भेटेकाे एक घन्टाकाे गफमा के मन बुझ्ला र एकघन्टा त अनुहार नै हेरेर बित्छ हेाला । यही कुरा साेच्दा साेच्दै अफिस बिदा हुने समय भइसकेकाे थियाे । तर मेराे मनलाइ  आतुर भइरहेकेाले साढे चार बजे नै म अफिसबाट निस्के । खासमा मलाइ अत्याउने पनि त उही साभार ने थियाे । दिनभरी कति बेला निस्किन्छौ भनेर मेसेज गरेकाे गर्याै थियाे । मैले निस्किनु अघि उसलाइ "म निस्के भनेर" मेसेज गरे । एयरपाेर्टकाे गेटमा म पहिला पुगेर उस्लाइ कुरिरहे। यो बेला यस्तो लाग्याे की ... म क्यालेन्डर पल्टाएर हाम्रो पहिलो डेटमा पुगूँ । अनि यो भय र निर्भयबाट मुक्त होउँ । हुन त हामीले गुजारेको समय त हाम्रै  थियो । हामीलाई कसैको परवाह थिएन । कसैलाई हानी गर्ने उद्देश्य पनि थिएन । जे थियो  मलाई ऊ सँग र उसलाई म सँग थियो  ।


ऊ आयो । दुब्लाएछ पहिला भन्दा । सलक्क परेको सुगठित शरीर । मिलेका दाँत । परै बाट मुस्कायो । कालो "रेवन" लाएको थियो । गोरो चेहरामा खुब खुलेको थियो "रेवन" ले। उसको शरीरबाट आउने सुगन्धले मलाई यसै यसै आनन्दित बनाउँथ्यो । तर यो पटक यस्तो अनुभूति भएन । सायद सुगन्धको आयु पनि सम्बन्धसङै सकिने रहिछ । हेरिरहूँ लाग्दो थियो ऊ । पहिला जस्तै । मेरो छेउमा आएर रेस्टुरेन्ट तिर जाने इसारा गर्यो । हामी ’पर्पल हेज’मा छिर्यौं । हामीले आमुन्ने सामुन्ने बसेर एक अर्कालाई हेरिरयौं। उहीँ लाडिएको आवाज थियो । सम्बोधन उहीँ थियो । पहिला झैँ मेरै कोल्ड ड्रिङ्कंको स्ट्रले कोल्ड ड्रिङ्क पियो । उस्का कैला आँखामा , म कतै हराएको थिइन । न त उ नै हराएको थियो म बाट । बस समय हामीबाट हरायो । सम्बन्ध हामीबाट हरायो । अनि एक अर्को जिन्दगीबाट हामी हराएका थियौँ।


हामी "रिलेसन" मा हुँदै ऊ डेनमार्क गयो । पढ्न । पैसा कमाउन त्यसपछि समय हाम्रो अनुकूल भएन । हाम्रो बाटो फरक भयो । तर मलाई अहिले पनि लाग्दैन उसले मलाई चाहेर छोड्यो । या मैले चाएर "अप्सन" खोजे । के भयो ... के भएन .... त्यो सबै एकर्काले पठाएका इमेलमा अझै "अर्काइभ"मा साँक्षी छन् । तर जे भयो त्यो हुनु थियो । यसै भनेर चित्त बुझायौँ ।


ऊ फेरि फर्कँदै थियो "कोपनहेगन" ।


यो भेटमा हामी एउटा पूर्ण आयुको बाचेको प्रेमको खबर सुनसान सहर लाई सुनाउँदै थियौँ । साँझ छिप्पिँदै थियो। हामीले छुटेको प्रेमको कुरा गर्यौ । करियरको कुरा गर्याै र हामीले नितान्त हाम्रो कुरा गर्यौँ । अरू कसैको कुरा गरेनौँ । पुसको जाडो थियो । त्यस्मा पनि शितलहरले छोपिएको विराटनगर अझ निर्दयी रूपमा चिसिएको थियो। अब हामी छुट्नु थियो । आ आफ्नो गन्तव्य तर्फ । छुट्नु अघि निर्बाध रूपमा आलिङ्गनमा बाधियौं । अनि एक अर्काको छातीको तातो स्पर्श बोकेर दुवै छुट्याै।



प्रतिक्रिया