काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकको कार्यान्वयन गर्न सरकार स्पष्ट भएको बताए। राष्ट्रिय सूचना आयोगद्वारा मङ्गलबार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए।
“हामीले लामो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएको हो। स्वतन्त्रता र सूचनाको हकका लागि म आफैं जेलनेल लडेर आएको हो। संविधानमा हामीले मौलिक हकको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्नुपर्छ भन्नेमा अहिलेको सरकार स्पष्ट छ। हामी सबै फराकिलो, स्वतन्त्र र अनुशासित समाज चाहन्छौँ। परिपूर्ण लोकतन्त्र हाम्रो माध्यम हो, जसभित्र सूचनाको हकसहित सबै हक समावेश गरिएको हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “यहाँ मतलवै नभएको विषयमा पेसेवार सूचनाको हक माग्नेहरु छन्। व्यक्तिका गोपनीयता र अनुसन्धानका क्रममा रहेका विषयमा पनि सूचना पाउनुपर्छ भनेर ढिपी गर्नेहरु छन्। समाज र राज्यमा कतिपय विषय गोप्य नरहने भन्ने हुँदैन। हामीले शपथ ग्रहण गर्दा आवश्यक काम पर्दा बाहेक प्रकट वा व्यक्त गर्ने छैन भन्ने शपथ लिएका हुन्छौँ। त्यसकारण हामी सबै आफ्नो अनुशासन र मर्यादामा रहँदै मौलिक हकको कार्यान्वयनमा लाग्नुपर्छ।”
प्रधानमन्त्री ओलीले सरकार र सूचना आयोगबिच कुनै अधिकारको लडाइँ र तानातान नरहेको बताउँदै मौलिक हकको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमा ल्याउने र समाजलाई व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको पनि बताए।
कार्यक्रममा सूचनाको हकका अभियन्ता, उत्कृष्ट सूचना अधिकारी, पत्रकार, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो।