सुनसरी, असार २९
सुनसरी
प्रहरीले धरानबाट ठुलो परिमाणको लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । विशेष
सूचनाको आधारमा प्रहरीले धरानस्थित १७ वर्षिया किशोरीको डेराबाट लागुऔषध बरामद
गरेको हो । प्रहरीका अनुसार ती किशोरी बस्दै आएको डेराबाट ट्रामाडोल चौध हजार ९ सय
१ क्याप्सुल, स्पाजमोल ७ हजार ४ सय ९६ ट्याब्लेट र कोलीबन नामको
प्रतिबन्धित औषधी फेला परेको हो । चेकजाँचको क्रममा डेराबाट लागुऔषध सहित ७६ हजार
नगद समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीन कृष्ण
भण्डारीले जानकारी दिए । लागुऔषध र नगद सहित प्रहरीले किशोरीको कोठाबाट थप ४
जनालाई समेत नियन्त्रणमा लिएको भण्डारीले जानकारी दिए ।
नियन्त्रणमा
लिइएकाहरूमा धरान ४ का २६ वर्षीय मदन राई, सोही स्थानको १९ वर्षीय सचिन राई, धनकुटा ३
कागते ठेगाना भएका वर्ष ४५ को चन्द्रध्वज राई र भारत अररिया जोगबनीका २८ वर्षीय
रवि कुमार सिंह रहेका छन् । नियन्त्रणमा रहेकी १७ वर्षिया किशोरीको पहिचान भने
प्रहरीले खुलाएको छैन । पक्राउ परेकाहरू लागुऔषधको सङ्गठित कारोबारमा संलग्न रहेको
हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । भारतबाट लागुऔषध ल्याएर भण्डारण गरी
राखेर बेचबिखन गर्दै आएको हुन सक्ने प्रहरीको अनुमान छ । सो बारेको थप अनुसन्धान
भने जारी डिएसपी भण्डारीले जानकारी दिए ।